सप्तरी, कात्तिक ११ः जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिंह उच्च मावि कक्षा ८ की छात्रा उनलाई प्रदेश २ सरकारले सञ्चालनमा ल्याएको ‘बेटी पढाउ बेटी बँचाउ’ कार्यक्रम अन्तर्गत साईकल दिँदा उनी निकै उत्साहित थिईन् ।
घरबाट दुई किलोमिटर टाढाको विद्यालय आफ्ना अन्य संगीसितै एक महिनाजति उनले साईकलमै धाईन् । तर करीब एक महिनापछि रोकिएको उनको विद्यालयसम्मको यात्रा अहिले पनि सुचारु बनेको छैन । कोरोनाको संक्रमण फैलिन थालेपछि चैत ११ देखि भएको लकडाउन तथा त्यसपछिको निषेधाज्ञाका कारण बन्द भएको विद्यालय हालसम्म नखुल्दा पाएको नयाँ साईकल अहिले थन्कयाएर राखेकी छिन् उनले । सुरुका केही दिनसम्म त विद्यालय खुल्ला र पढ्न जान पाईएला भन्ने लाग्थ्यो, उनले भनिन्, महिनौं बित्दा पनि नखुलेपछि साईकल थन्क्याएर राखिदिएकी छु ।
पहिला विद्यालय नियमित चल्दा समयमा तयार भई जाने, घरमा पनि गृहकार्य गर्ने बानी रहेको भएपनि अहिले लामो समयको विद्यालय बन्दका कारण पढाई समेत निरन्तर हुन नसकेको उनको भनाई छ । सुरुका दिन त माथिल्लो कक्षाका पुराना किताब ल्याएर पढ्ने गरेको भएपनि शिक्षक अभावका कारण धेरै कुरा बुझ्न नसकिएको उनको अनुभव छ । यही कारणले पठनपाठन भन्दा पनि घरको कामकाज गर्ने, वस्तुभाउ चराउने तथा आमालाई काममा सघाउनेतिर लागेपछि उनको पढाईको निरन्तरता टुटेको छ । राजधानी दैनिकबाट