रौनक नभएको दसैं

रिपोर्ट नेपाल | 2020 Oct 26 | 07:47 am 3011

काठमाडौं, कात्तिक १०ः कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण मुलुकको आर्थिक गतिविधि ठप्प भएको र कोरोना संक्रमितको संख्या पनि दैनिक रूपमा गुणात्मक हिसाबले बढेको छ । समुदायमा थप संक्रमण फैलिएर त्रास बढिरहेको छ । यस्तो समयमा मनाइने दसैं विगत जस्तो नहुने भएको छ । यतिखेर हरेक व्यक्ति दसैंभन्दा पनि कोरोना संक्रमणबाट आफू र परिवारलाई कसरी बचाउने भन्ने चिन्तामा छन् ।

धेरैले भन्न थालेका छन्– कोरोना महामारीबाट बचियो भने यस्तो दसैं त अर्को वर्ष धुमधामका साथ मनाउँला । त्यसैले यसपालिको दसैंको रौनक हराएको छ ।

सामान्य समय भएको भए यतिखेर काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, महाबौद्ध, दरबारमार्गलगायतका बजारमा खुट्टा हाल्ने ठाउँ हुँदैनथ्यो । सडकमा मान्छेको भीड, कपडा पसलमा नयाँ कपडा छान्नेको लर्को, सुन पसलमा गहना रोज्नेको लाइन र मोबाइल पसलमा नयाँ मोबाइल किन्नेको भीड हुन्थ्यो । जुत्ता, चप्पल, मसला, कपडा पसल, खसी बजारमा घटस्थापनाको दिनदेखि नै निकै चहलपहल हुन्थ्यो । अहिले विगतमा जस्तो दृश्य देखिएको छैन् ।

विगतका वर्षमा यहाँ उपभोक्ताले आफूलाई आवश्यक पर्ने सामान र दसैं तिहारका लागि आवश्यक सामान जोहो गर्न निकै तँछाडमछाड एवं घुइँचो नै हुन्थ्यो । त्यति मात्रै होइन, नयाँ गाडी, मोटरसाइकल तथा स्कुटर खरिद गर्नेहरूले दुईपांग्रे तथा चारपांग्रे सवारी साधनका सोरुम घेरिरहेका हुन्थे । टिभी, फ्रिज, मिस्चर जस्ता विद्युतीय सामग्रीदेखि रङरोगन र घर टल्काउने उपाय खोज्दै दसैंका बेला बजारमा निस्किएका मान्छेको भीडले काठमाडौं उपत्यकालगायत मुलुकभरका सबै सहरका गल्लीहरूमा निकै चाप हुन्थ्यो । तर, यसपालिको दसैंमा त्यस्तो भीडभाड देखिएको छैन ।

कोरोना भाइरस (कोभिड–१९) को कहरले मुलुकको आर्थिक गतिविधि निकै धराशायी भएको र संक्रमण दर पनि उच्च रूपमा बढ्दै गएकाले अहिले अधिकांश मानिस दसैंको किनमेलमा निस्किएका छैनन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.