कैलाली, कात्तिक ६ः तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ। प्रहरीले केराउ (मटर)का मुख्य तस्करलाई पक्राउ गरेको छैन। पक्राउपछि सार्वजनिक गरिएका सात जना अधिकांश भरिया मात्रै पाइएको छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्ट शनिबार राति १० देखि ११ बजेको बीचमा असइ विक र जवान साउदको हत्या भएको अनुमान गर्छन्। दुवै जना राति १० बजेदेखि नै सम्पर्कविहीन भएका थिए। तर, त्यसबारे जिल्ला प्रहरी कार्यालयमा आइतबार बिहान १० बजे मात्रै खबर गरिएको थियो। माथिल्लो निकायमा समयमै किन खबर गरिएन ? यसबारे जिल्ला प्रहरी प्रवक्ता विष्ट भन्छन्, पालैपालो गस्ती जाने गरिन्छ। गस्तीमा फर्किने समयको ठेगान हुँदैन। त्यसैले ढिलो गरी खबर गरिएको हुन सक्छ।
सामान्यतः गस्तीमा रहेका हवल्दारसँग वाकेटोकी हुन्छ। असइको टोलीसँग नहुने कुरै भएन। संवेदनशील क्षेत्रमा दुई जना मात्रै गस्ती गएका बेला असइ विकले माथिल्लो निकायमा जाहेर गरेका होलान्। केही परिहाले आकस्मिक टोलीका लागि कुरा गरे होलान्। तर, प्रहरी यसबारे अनुसन्धान भइरहेको छ भनेर पन्छिन्छ। सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदी यसबारे बोलेका छैनन्।
सीमा नाकामा हुने चोरी तस्करी र आपराधिक गिरोह समात्न जाने क्रममा स्थानीय कमान्डरले माथिको कमान्डरलाई जानकारी वा सूचना दिने फोर्सको ‘चेन अफ कमान्ड’भित्रै पर्छ।
त्यसो हो भने ब्याक फोर्स किन गएन ? एक प्रहरी अधिकृत भन्छन्, असइ विक दुस्साहसी र निडर थिए। चौकीमा थोरै जनशक्ति भएकाले पनि उनीहरू दुई जना मात्र गस्तीमा निस्किए। तस्करसँग सेटिङ गरेको भए उनीहरू बाँच्थे होलान् तर इमानदार भएकाले मारिए।
असइ विक र जवान साउद तस्करी भइरहेको सूचनाका आधारमा बेलुकीको खाना खाएर मोटरसाइकल चढी सीमातिर गस्तीमा गएका थिए। उनीहरूले आफू चढेको मोटरसाइकल नजिकैको बस्तीमा एक घरमा राखे। आआफ्नो स्लिपिङ ब्याग समातेर उनीहरू तस्कर ढुक्न बसेको हुन सक्ने प्रहरीको अनुमान छ। उनीहरूले मोटरसाइकल छाडेको स्थानभन्दा घटनास्थल झन्डै २ किमि दूरीमा छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट