नेपाल र चीनले सगरमाथाको उचाइ एकैपटक सार्वजनिक गर्ने

रिपोर्ट नेपाल | 2020 Oct 18 | 08:12 am 2107

काठमाडाैं, कात्तिक २ः नेपाल र चीन दुवैले एकै पटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन्। दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन्।

दुवै देशले एकै पटक आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। नेपालसँगको समन्वय र सहमतिमा चीन सरकारले छुट्टै सगरमाथाको उचाइ मापन गरेको मन्त्रालयले जनाएको हो। नेपालले सगरमाथा मापनको काम अन्तिम चरणमा पु-याएको बेला चीनले पनि उत्तरी मोहडाबाट मापन सुरु गरेको थियो।

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपाल र चीन दुवै देशले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी भएको बताउँदै यसका लागि चीन सरकारसँग पत्राचार भइरहेको बताइन्। ‘पहिले नै संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने सहमति भएको थियो। कसरी गर्ने, कस्तो कार्यक्रम गर्ने भन्नेबारे पत्राचार भइरहेको छ,’ उनले भनिन्।

मन्त्रालयका अनुसार सगरमाथाको उचाइ एकै पटक सार्वजनिक गर्न विभिन्न मोडेलमा छलफल भइरहेको छ। यसका लागि परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको स्रोतको भनाइ छ। नापी विभागले सगरमाथाको उचाइ मापनको टुंगो लगाएको छ। उक्त प्रतिवेदन हाल भूमि व्यवस्था मन्त्रालयमा पुगेको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.