काठमाडौं, कात्तिक १: कोभिड १९ का बिरामीलाई दिइने रेम्डेसिभर औषधि चरम अभाव भएपछि बल्ल सरकारले आयातको अनुमति दिएको छ। पहिलोचोटि ल्याइएको ६ हजार भाएल औषधि खपत भइसकेको छ।
औषधि व्यवस्था विभागले तीन वटा फर्मलाई औषधि आयात तथा बिक्रीको अनुमति दिएको हो। तिनमा यती फार्मसेप्टिकल डिस्ट्रिब्युटर प्रालि, सिनर्जी प्रालि र हेटेरो ल्याबस् लिमिटेड छन्। तर, तीन वटै फर्मसँग रेम्डेसिभर औषधि जगेडा छैन। ल्याउन समयमै अनुमति नपाउँदा बजारमा अभाव भएको तीन वटै फर्मका प्रतिनिधिको भनाइ छ।
अब सबै कोभिड अस्पतालले चिकित्सकको सल्लाहबमोजिम खरिद गरी उक्त औषधि प्रयोग गर्न पाउने भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सकको सिफारिसअनुसार सम्बन्धित व्यक्तिले अनुमतिप्राप्त फर्मबाट खरिद गरेर प्रयोग गर्न सकिने बताएका हुन्।
जबकि किन्न बजारमा औषधि पाइन्न। विभागले खरिदका लागि समयमा अनुमति नदिँदा बेलैमा ल्याउन नसकिएको यती फार्मसेप्टिकलका प्रभुराज यादवले बताए। एक पटक ल्याएका थियौँ, उनले भने, त्यो सकियो। बीचमा ल्याउन अनुमति मागेको, विभागले दिएन। भर्खर स्वीकृति दिएको छ। केही दिनमा आउँछ।
विभागले अहिले तीनवटै फर्मका लागि २ हजार भाएलका दरले ल्याउन अनुमति दिएको छ। औषधि आउन अझै तीन साता लाग्ने हेटेरो ल्याबस् लिमिटेडका प्रतिनिधि विजय अग्रवालले बताए। हामीलाई भर्खर अनुमति आएको छ, अग्रवाल भन्छन्, ल्याउने ठाउँमा पनि औषधिको माग ज्यादा छ। कम्तीमा तीन साता लाग्छ।
पहिलो पटक ल्याएको औषधि नसकिँदै ल्याउन अनुमति माग्दा नदिएकाले अहिले अभाव भएको सिनर्जी प्रालिका प्रतिनिधि मधु पौडेलले बताए। औषधि ल्याउन मागअनुसार अनुमति नदिएकाले पनि समस्या भएको उनको भनाइ छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट