सडेकाे अवस्थामा भाले गैंडा मृत फेला

रिपोर्ट नेपाल | 2020 Oct 13 | 08:34 am 2584

चितवन, असाेज २७ः साेमबार चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा भाले गैंडा सडेकाे अवस्थामा मृत फेला परेको छ ।

निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा गैँडा मृत फेला परेको हो ।

कठौनास्थित नारायणी नदी किनारमा मृतावस्थामा फेला परेको भाले गैँडा करिब ३०–३५ वर्षको भएकाे निकुञ्जले जनाएको छ । मृतक गैँडाको प्रकृति हेर्दा करिब एक महिना अगाडि मरेको हुनसक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामले बताए।  मृत गैँडा अर्को भाले गैँडासँग जुधेर घाइते भएपछि मरेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ । मृत गैँडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ को साउनयता निकुञ्जमा नौवटा गैँडाको मृत्यु भइसकेको छ भने असोज महिनामा मात्रै छवटा गैँडा मृत भेटिएका छन् । गैँडाको प्राकृतिक मृत्युदर बढ्न थालेपछि यसबारे अध्ययन गर्ने तयारी भइरहेको निकुञ्जका सूचना अधिकारी रामले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.