अरुले बोकाएको भारी !

रिपोर्ट नेपाल | 2020 Oct 08 | 09:22 am 2271

  • धर्म पौडेल

मान्छेको कति क्षमता छ भन्ने कुरा अहिलेसम्म खासै यकिन हुन नसके पनि मान्छेको क्षमता निस्संदेह असीमित हुन्छ। आफ्नो क्षमता नै के कति छ भन्ने आफैले थाहा नपाउँदा मान्छे बिरक्तिएको हुन्छ। जुनीभर आफ्नो पहिचानको खोजीमा भौतारिएर नानाथरी उपदेश दिंदै हिड्ने मान्छे पनि समाजमा ब्याप्त हुन्छन् । जसरी एउटा कस्तुरी मृगले आफ्नो नाभिमा रहेको मुल्यवान बस्तुको बास्ना चाहार्दै जीवनभर थकित हुन्छ त्यसरी नै । नत जीवनको मूल्य मान्यता थाहा छ नत जिम्मेवारी र कर्तव्य नै, यस्तो अन्योलग्रस्त जीवन जीएर मान्छेलाई कहाँबाट सुख शान्ति मिल्नु ? आफ्नो जीवनमा कहिल्यै लागू गर्न नसक्ने तर अरुको लागि आदर्श वाक्य दिनेहरू साँच्चै भन्नुपर्दा एक प्रकारका पाखण्डि हुन् ।

आफूले प्रयोगात्मक परख नगरी अरुलाई फोस्रो आदर्श बाँड्नु हास्यास्पद सँग लज्जास्पद पनि हो। आफुले बोकेको भारीको वजन थाहा नपाइ अरुको बोझको मर्म फलाक्नु पटक्कै सुहाउने कुरो हैन। गन्तव्यहीन यात्राको कुम्लो सानै भएपनी बोझपुर्ण हुन्छ। यात्रामा न उत्साह न उमंग हुन्छ, हुन्छ त केबल बेचैनीको बोझ र झोंज हुन्छ। यस्तो यात्रा निकै पट्यारिलो र अर्थहीन हुन्छ। अझै  आफ्नो इच्छा बिपरित अरुकै लागि सुखै नपाएर गरेको यात्रा अझ कस्तो होला ? अनुमान गरौं त१ हो त्यही बिरसिलो र निरसिलो यात्रामा हामी लामो समयदेखि कुँदी रहेका छौं । जुन बेकार छ निरर्थक छ।

हामीले हाम्रो मौलिक मुल्य मान्यतालाई लत्याएर ,हाम्रो रितिथितिलाई कुल्चेर ,आफ्ना संस्कार संस्कृतिलाई तिलान्जली दिएर सभ्य र विकसित हुने होडबाजीमा सकि नसकि, धानी नधानी जुन यात्रा हिंडेका छौं त्यो अवश्यम्भावी लक्षहीन र तथ्यहीन छ। आफ्नो औकात नजानी नबुझी अरुको प्रयोगशाला बनेर ख्वामितलाई खुशी बनाउन मरिहत्ते गर्ने प्रवृत्ति नै आजको मुल समस्याको जड हो।

दुनियाँमा यति सबै चिजले भरिपूर्ण भुमि कहिँ कतै भेटिदैन। तर दुर्भाग्य हामी सबैभन्दा गरीब किन भयौं भन्ने विषयमा कहिल्यै बहस चलेन। चल्यो त केवल पश्चिमी, उत्तरी र दक्षिणीको इशारा र चाखका विषयमा। आफ्नो प्रकृति प्रदत्त अमुल्य बस्तुलाई कौडिको भाउमा अरुलाई दिएर हामी बिदेशी महङ्गो तथा बिलासी बस्तुको आयातमा लाग्यौं । फिनि गुमाएको पत्तो नपाइ गहुँको दाना गनेर रमायौं। यहि नै हाम्रो दुर्भाग्य हो।

हाम्रा शासकहरुमा कहिल्यै पनि स्वाभिमानीपन आउँन सकेन।निहित स्वार्थका कारण  आत्मनिर्भरका बाटो छाडि परनिर्भरतामा हौसिए। कुनैपनी कालका शासकले आफ्नो देशलाई केन्द्रमा राखेर निति बनाउन सकेनन् । आफ्नो र आफ्नाको लागि जे पनि गर्न तयार भए। देश हितमा साझा सहमति जुटाउनुको साटो क्षणिक स्वार्थमा चुर्लुम्म डुबे।प्रतिस्पर्धामा भ्रष्टाचारलाई मौलाउन बढवा दिए। दलीय स्वार्थमा लागेर संस्थागत भ्रस्टाचार गरे। संबैधानिक निकायहरू आफू अनुकुल भरी भराउ गरे। न्यायक्षेत्र भ्रष्ट र निस्तेज बनाइयो। दण्डहीनताले पराकाष्ठा नाघ्यो। अस्थिरता र अराजकताको मलजल गरियो ।

कहिंकतै थिति बस्न सकेन। अपराधजन्य कृयाकलापहरु दिन दुगुना रात चौगुना बढे। देश दिनानुदिन कमजोर पार्दै लामो अस्थिरतातर्फ नियतबस धकेलियो। शान्ति ,सुब्यवस्था ,सुशासन एकादेशका कथा बनाइयो। जनताका आस्था र बिश्वास माथि पटकपटक घात गरियो। जनतालाई आजाद बनाउने नाममा आजीत पारियो। जनता अब थकित ,गलित र उठ्नै नसक्ने गरि उत्पीडित भए। उनीहरुसँग धोखेबाज नेतृत्वलाई धिक्कार्नु बाहेक अरु केही रहेन। नेतृत्व हत्केलाले सुर्यलाई छेकेर संसार अंधकार भएको भानमा रमाइ रहेकोछ। यो क्रम लामो समयदेखि जारी छ निरीह भएर हेरिरहौं कहिलेसम्म यस्तो चल्दो रहेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.