काठमाडाैं, असाेज १९ः साेमबार थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन्। नुवाकोट घर भएकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन्।
अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान ५ शिशुको जन्म भएको बताइएकाे छ। ५ मध्ये चार शिशु जिवितै रहेको र एक शिशुको जन्म हुनु अघि नै मृत्यु भइसकेको थियो।
शल्यक्रियामा डा. सुवेदीको नेतृत्वमा डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेन रहेका थिए भने, एनेस्थेसियामा डा. मुकेश कुमारले नेतृत्व गरेका थिए। त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गरेकी थिइन् भने बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले बच्चाहरुको स्वास्थ्य अवस्था हेरिरहेकी छन्।
शल्यक्रियामा संलग्न चिकित्सक डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई एन आइसियु अब्जर्भेसनका लागि राखिएको छ। उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको बताएका छन्।
४ शिशुमध्ये एकको १ किलो ९ सय ग्राम तौल रहेको छ । अन्यको क्रमसः १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम रहेको छ। प्रसुति गृहमा नियमित गर्भ जाँच गराइरहेकी तामाङको तीन साताअघि भिडियो एक्सरे गर्दा एक बच्चाको गर्भमै मृत्यु भएको थाहा भएको थियो।
उक्त बच्चा मृत्यु भएको थाहा पाएपछि चिकित्सकले अस्पतालमा नै राखेर उपचार गरिरहेको डा. सुवेदीले बताए। एकै पटकमा ५ बच्चा जन्माएको दुर्लभ मानिन्छ।
डा. सुवेदीले यसबारे आफ्नो सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएका छन्।