त्रिभुवन विश्वविद्यालयमा बजेटभन्दा बेरुजु बढी

रिपोर्ट नेपाल | 2020 Oct 04 | 08:19 am 2117

काठमाडौं, असाेज १८: त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम २८ अर्ब नाघेको छ। जबकियो संस्थाको वार्षिक बजेट नै २१ अर्ब ८६ करोड ४५ लाखरुपैयाँ मात्रै छ। विश्वविद्यालयसभाले शुक्रबार यो बजेट पारित गरेको हो।

बेरुजु फर्स्योट गर्न विश्वविद्यालयले हरेक वर्ष सेमिनार, तालिम तथा अभिमुखीकरण कार्यक्रममा लाखौं रकम खर्च गर्दै आएको छ। तर, बेरुजुको यो तथ्यांकले लगानीको परिणाम भने शून्यप्रायः देखाएको छ। महालेखापरीक्षक कार्यालयको गत वर्षको ५६ औं वार्षिक प्रतिवेदनमा त्रिविको कुल बेरुजु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार रुपैयाँ थियो। त्यसमध्ये एक वर्ष अवधिमा ८९ करोड ६६ लाख ८१ हजार रुपैयाँ संपरीक्षणबाट फर्स्योट भएको थियो।

सोही वर्ष फर्स्योट भएको रकमभन्दा झन्डै नौ गुणा अर्थात् ८ अर्ब ४४ करोड १३ लाख ९९ हजार रुपैयाँ बेरुजु थपिएको हो। महालेखाको ५७औं वार्षिक प्रतिवेदनअनुसार त्रिविको कुल बेरुजु २८ अर्ब ६७ करोड १९ लाख ४९ हजार रुपैयाँ पुगेको हो।

विश्वविद्यालयका रजिस्ट्रार पेशल दाहालले बेरुजु फर्स्योट ठूलो समस्याका रूपमा रहेको बताए। यसपटक केही निकायमा एकै पटक चार–पाँच वर्षको लेखापरीक्षण गरिएकोले बेरुजु बढेको उनको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको वार्षिक सभामा त्रिवि पनि क्याम्ब्रिज, अक्सफोर्ड, तक्षशिलाजस्ता विश्वका चर्चित विश्वविद्यालयसरह रहेको बताएका थिए। तर, ८० प्रतिशत उच्च शिक्षाको भार बोकेको यो संस्थाको कहालीलाग्दो वित्तीय विवरणप्रति भने विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले चिन्ता व्यक्त गरेनन्।

पदाधिकारी नियुक्तिमा भएको दलीय भागबन्डाले पछिल्लो समय विश्वविद्यालय थिलथिलो भएको छ। दलको कार्यकर्ताकै शैलीमा विश्वविद्यालय नेतृत्वले आफू मातहतका कार्यालयमा पदाधिकारी नियुक्त गर्दा क्षमतावान्भन्दा पनि राजनीतिक आस्थालाई मानक बनाउने गरेका छन्। नेतृत्वमा आफूनिकट व्यक्ति भएपछि वित्तीय विवरण सार्वजनिक गर्ने, तालुक निकायलाई बुझाउनेलगायत काममा लापरबाही हुने गरेको जानकार बताउँछन्। यसलाई विश्वविद्यालय नेतृत्वले कडाइ गर्न सकेका छैनन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.