नेपाल टेलिकमद्वारा रिश्मीमा रहेको मोवाइल टावर स्तरोन्नती

रिपोर्ट नेपाल | 2020 Oct 01 | 05:33 pm 2179

  • थम्मन थापा

बागलुङ, असोज १५ः नेपाल टेलिकमले गलकोट नगरपालिका ९ देउपुर डाँडामा रहेको मोवाइल टावरको स्तरोन्नति गरेको छ ।

टेलिकमले ग्रामीण क्षेत्रमा मोवाइल डाटा सहजै उपलब्ध गराउने उद्देश्यले बिहीबारदेखि तेस्रो पुस्ताको थ्रीजी सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।

टेलिकमले भ्वाइस र डाटालाई थप प्रभावकारी बनाउन पहिले सञ्चालनमा रहेको उक्त टावरमा थप सेवा विस्तार गरिएको कार्यालय प्रमुख शर्माले बताए।

गलकोट नगरपालिका ८ काँडेबास बजार, बिरकोट, राजबगर, पचुवा, झारमौर, वडा नं ९ छिस, रिश्मी, बडागाउँ र मध्यपहाडी लोकमार्गलाई लक्षित गरी सेवा विस्तार गरिएको उनको भनाइ छ ।

टेलिकमले उक्त क्षेत्रमा केही समय पहिले सेवा विस्तार गरेको थियो । पहिले कुराकानी गर्न समस्या थियो अहिले उक्त समस्याको समाधान गरी मोवाइल डाटालाई समेत थप गरी इन्टरनेट प्रयोगकर्तालाई सेवा उपलब्ध गराइएको नेपाल टेलिकम बागलुङले जनाएको छ ।

निकट भविष्यमा टेलिकमले उक्त स्थानमा २० मीटर अग्लो टावर निर्माण गर्ने भएको छ । अग्लो टावर निर्माण भएपछि चौथो पुस्ताको फोर जी सेवा समेत थप गर्ने टेलिकमले बताएको छ । फोर जी सेवा सञ्चालनमा आएपछि मोवाइल डाटा मार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताले उच्च गतिको इन्टरनेट सेवा प्राप्त गर्ने छन् ।

टेलिकमले छिट्टै काँडेबासको उचाका, ताराखोलाको अर्गल र नरेठाँटीको थाना डाँडामा रहेको नमस्ते मोवाइलको टावर स्तरोन्नती गर्न योजना निर्माण गरी गृह कार्य गरिरहेको छ । अहिले देशभर टेलिकमले फोर जी सेवालाई तीव्र रुपमा विस्तार गरिरहेको छ । जिल्लाका अधिकांश स्थानमा नेपाल टेलिकमले तीव्र गतिको इन्टरनेट सेवा थ्री जी र फोर जी सेवा विस्तार गरी सञ्चालनमा ल्याइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.