कमवानपुर, असोज १३ः जिल्लाको हेटौडा उपमहानगरपालिका १२ रमनटार स्थित राप्ती खोलाको किनारबाट एपीएफ टोलीले करीव ५२ किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल आईराटी पोष्ट कत्लेखोलाबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै ना २ ह १३१० नम्बरको अटोका चालक उक्त अटो सोही ठाउँमा छाडी फरार भएपछि सो अटोमा जाँच गर्दा उल्लेखित गाँजा फेला परेको हो ।
एपीएफ टोलीले त्यसवेला उक्त अटो समेत बरामद गरेको छ । बरामद गाँजा तथा अटो स्थानीय प्रहरीमा बुझाईएको छ ।
यसैगरी सिरहा जिल्लाको सुखिपुर नगरपालिका ४ बनैनिया चोकबाट एपीएफ टोलीले करीव १९ किलो गाँजा बरामद गरेको छ ।
को २९ प १४८७ नम्बरको मोटरसाईकलमा राखी नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुखिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
गाँजा ल्याउँने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा र मोटरसाईकल छाडी फरार भएका थिए ।
बरामद गाँजा तथा मोटरसाईकल स्थानीय प्रहरीमा बुझाईएको छ ।
चोरीपैठारीको सामान बरामद
बारा जिल्लाको महागढीमाई नगरपालिका २ पसाहा पुलबाट एपीएफ टोलीले कागजपत्र बिनाको हार्डवयरका सामान बरामद गरेको छ ।
ना ३ ह ९४४८ नम्बरको अटोमा राखी ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बरियारपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
समान ल्याउन प्रयोग भएको उक्त अटो समेत बरामद गरिएको छ । बरामद सामान तथा अटो भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना तथा हार्डवयरका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौली स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाईएको छ ।