उपत्यका प्रहरी अब संघ मातहत

रिपोर्ट नेपाल | 2020 Sep 29 | 07:25 am 2103

काठमाडौं, असाेज १३ः लामो समयदेखि किचलो रहेको उपत्यका प्रहरी केन्द्र कि प्रदेश मातहत भन्ने विषय टुंगिएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश प्रमाणीकरण गरेसँगै सो विवाद टुंगिएको हो । सो अध्यादेशमा उपत्यका प्रहरीलाई संघ मातहत राख्ने व्यवस्था गरिएको छ ।

गत १४ साउनमा प्रधानमन्त्री केपी ओली र सातै प्रदेशका गृहमन्त्रीहरूबीच उपत्यका प्रहरीलाई केन्द्र मातहत राख्ने विषयमा सहमति जुटेको थियो । सोहीअनुसार मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

राष्ट्रपतिद्वारा जारी अध्यादेशमा उपत्यका प्रहरी केन्द्र मातहत नै रहने व्यवस्था गरिएको हो । अध्यादेश जारी भएपछि अब प्रदेशमा प्रहरीलाई समायोजन गर्ने बाटोसमेत खुलेको छ ।

संघ र प्रदेश प्रहरीबीचको अधिकार बाँडफाँट गर्ने सम्बन्धमा २०७६ मा बनेको ऐनमा भने उपत्यकालाई प्रदेश ३ अन्तर्गत राख्ने निर्णय भएपछि विवाद बढेको थियो ।

काठमाडौं, भक्तपुर र ललितपुरको सुरक्षा व्यवस्था हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीले हेर्दै आइरहेको छ । अध्यादेशअनुसार अब सो प्रहरी कार्यालयको नाम ‘संघीय राजधानी प्रहरी कार्यालय’ हुनेछ । त्यसको नेतृत्व भने डीआईजीले नै गर्नेछन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.