घरपायक क्याम्पसबाट परीक्षा लिने तयारीमा त्रिवि

रिपोर्ट नेपाल | 2020 Sep 28 | 07:41 am 1955

काठमाडाैं, असाेज १२ः त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे पुनः लकडाउन गर्न सक्ने जनाएपछि त्रिविले घरपायक क्याम्पसबाट परीक्षा दिन सक्ने व्यवस्थासहितको तयारी थालेको हो ।

त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले सरकारले पुनः लकडाउन गरे घरपायकको क्याम्पसमा भए पनि परीक्षा दिने व्यवस्था गर्न लागेको जानकारी दिए । उनले भने– अहिले भौतिकरुपमै परीक्षा दिने व्यवस्था गरेका छौं, परिस्थिति बदलिएर पुनः लकडाउन भए सबै वैकल्पिक व्यवस्थासहित घरपायक परीक्षा दिने योजना बनाएका छौं ।

त्रिविको परीक्षा सञ्चालक समितिको बैठकले मंसिरमा परीक्षा गर्ने गरी सबै तयारी गर्न डीन कार्यालयलाई निर्देशन दिएको थियो । डीन कार्यालयले सबै क्याम्पसलाई परीक्षाको तयारी थाल्न निर्देशन दिएसकेको छ । डीन कार्यालयले सबै क्याम्पसका विद्यार्थीको अवस्थाबारे जानकारी लिइसकेको छ ।

कुन विद्यार्थी कहाँ⁄ छन् लकडाउन खुलेसँगै राजधानी वा क्याम्पससँग सम्पर्क गरेका छन् कि छैनन्लगायतका विषयमा समेत अध्ययन भइरहेको जानकारी गराउँदै रजिस्ट्रार दाहालले भने– दशैंअघि यथार्थ विवरण आएपछि मोडलको बारेमा जानकारी दिनेछाैं ।

पनिकाले अनलाइन वा अन्य विश्वविद्यालयकै जस्तै निश्चित समय दिएर ओपन बुक मोडलमा परीक्षा लिने तयारीसमेत गरेको छ । यो मोडलमा परीक्षा हुनु केही मिनेटअघि क्याम्पसले इमेलबाट प्रश्नपत्र पठाउने र विद्यार्थीले तोकेको अवधिमा फोटो खिचेर वा स्क्यानिङ गरी उत्तरपुस्तिका पठाउनुपर्ने हुन्छ ।

परीक्षाका प्रमुखसमेत रहेका रजिस्ट्रार दाहालले पहिलो चरणमा स्नातकोत्तर तहका करिब २५ हजार विद्यार्थीको परीक्षा लिने विषयमा छलफल भइरहेको उल्लेख गरे। नेपाल समाचार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.