धादिङको गजुरीमा पहिरो जाँदा दुई वटा गाडी च्यापियाे

रिपोर्ट नेपाल | 2020 Sep 23 | 03:15 pm 2510

धादिङ, असाेज ७ः पृथ्वी राजमार्गअन्तरगत धादिङको गजुरी गाउँपालिका –५ गलौदीमा पहिरो जाँदा दुई वटा गाडी पहिरोमा च्यापिएको छ।

काठमाडौंबाट धनगढि जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर पहिरोमा च्यापिएको ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए। उनका अनुसार काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनर पनि अड्किएको छ ।

राजमार्ग पूर्ण रुपमा अवरुद्द भएकाले सडक विभागको गजुरी फिल्ड कार्यलयबाट पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको छ। राजमार्ग खुलाउन केही समय लाग्ने प्रहरी निरीक्षक भट्टले जानकारी दिए।

त्यसैगरी नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीरमा लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ । अहिले सडक दुइतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.