काठमाडौं, असाेज १ः ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट भरिएको दुई वर्ष नाघिसकेको छ । अहिलेसम्म अन्तरकुन्तर खोजेर उपत्यकाका दुई महानगरपालिकासहित १८ स्थानीय निकायको फोहोर व्यवस्थापन भइरहेको छ ।
यस्तो समस्या आउँदा पनि गत चैतदेखि फोहोर विसर्जन गर्ने तयारी भएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सकेको छैन । शहरी विकास तथा भवन निर्माण विभागले ल्यान्डफिल साइट निर्माण गर्न नसक्दा उपत्यकाको फोहोर व्यवस्थापनमा जुनसुकै बेला समस्या आउने गरेको छ ।
अबको समस्या स्थानीय जनताको कारणले होइन, शहरी विकास तथा भवन निर्माण विभागकै कारण हुने भएको छ । ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्ने स्थान नभएको कारण समस्या पर्न लागेको हो । पछिल्लो समय ठेकेदारले बन्चरेडाँडामा संरचना निर्माण गर्न लागेको झन्डै दुई वर्ष पुग्न थालिसकेको छ ।
तैपनि काम हुन सकेको छैन । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले चैतदेखि नै फोहोर व्यवस्थापन गर्न सकिने जनाउँदै आएको थियो ।
अति नै भयो विभिन्न कारण देखाउँदै विगत चार महिनादेखि काम भएको छैन, स्थानीयले कामपालाई दोष देखाउँछन्, विभागले वास्तै गर्दैन, यसको कारण समस्या थपिएको छ।–कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने । १८ स्थानीय निकायले सिसडोलमा फोहोर व्यवस्थापन गरे पनि मुख्य दायित्व भने कामनपाको छ ।
तोकिएको समयमा काम सक्न पटकपटक आग्रह गर्दा पनि नभएपछि बाध्य भएर प्रधानमन्त्री र सरोकारवाला मन्त्रालयलाई पत्राचार गरेका छाैं।’ –विभाग प्रमुख श्रेष्ठले बताए । विभागले प्रगति भइरहेको दाबी गरे पनि अहिले शून्य प्रतिशत काम भइरहेको उनले जानकारी दिए। कामनपाले करिब एक महिनाअघि प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो । नेपाल समाचारपत्रबाट