नेकपा बैठकमै सरकारको आलोचना, प्रतिपक्षको प्रतिवाद गर्न ओलीको उर्दी

| 2018 Jul 06 | 06:34 am 3477

काठमाडौं, असार २२: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका बेला नेकपाभित्रबाटै पहिलोपटक आलोचना भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटी बैठकमा बोल्दै अधिकांश नेताहरुले सरकारमा मन्त्रीहरुबीच नै तालमेल नभएको र कार्यशैली प्रभावकारी नभएको भन्दै बैठकमा सरकारको कामबारे प्रश्न उठेको केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकलार्इ सम्बोधन गर्दै शुरुमा निस्किएका नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारलार्इ स-साना विषयमा पनि चौतर्फी आक्रमण भइरहेकोले प्रतिपक्षको प्रतिवाद गर्न निर्देशन दिएका छन्। उनले सार्वजनिक स्थानहरुमा बोल्दा सजग भएर बोल्नसमेत आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए।

क–कसले गरे आलोचना ?

बैठकमा नेताहरू भीमबहादुर रावल, अमृतकुमार बोहरा, युवराज ज्ञवाली, रघुजी पन्तलगायत करिब एक दर्जन नेताले सरकारको आलोचना गरेका हुन्। सरकारको काम जनताले दैनिक जीवनमा प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी हुन नसकेको उनीहरूको टिप्पणी थियो।

बजेटले सकारात्मक प्रभाव पार्न नसकेको, बजेटलगत्तै बढेको कालोबजारी नियन्त्रण गर्न नसकेको, कालोबजारी गर्नेमाथि कारबाही गर्ने सवालमा आपूर्तिमन्त्रीले कुनै प्रभावकारी कदम चाल्न नसकेको, सरकारको काममा मन्त्री–मन्त्रीहरूबीच नै समन्वय नदेखिएको उनीहरुको भनाई थियो।

यातायात क्षेत्रको सिन्डिकेट तोडेर सरकारले राम्रो सुरुवात गरे पनि निरन्तरता दिने सवालमा गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीबीच आपसी समन्वय नहुँदा नकारात्मक सन्देश गएको स्थायी समिति सदस्यहरूको भनाइ थियो।

कतिपय नेताले प्रदेशहरूमा पनि बजेटका विषयलाई लिएर आलोचना भइरहेको विषय पनि उठाए । उनीहरूले प्रदेश र केन्द्र सरकार तथा प्रदेश सरकार र पार्टीको संसदीय दलबीच नै राम्रो समन्वय नरहेकोमा ध्यानाकर्षण पनि गराए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.