सिरहा, भदाै २७: गत वर्ष धनगढीमाई नगरपालिका–११ का कमलकुमार सिंहले डेढ विघा जग्गामा ‘ओल’ तरकारी खेती गरेका थिए। लगानी र मेहनतअनुसार उनले उब्जाएको ओल बेचेर आम्दानी पनि हात पारे। त्यसैले उत्साहित भएर यस वर्ष थप तीन बिघामा तरकारी लगाए। तर, कोरोना महामारीले यसपालि उनले सोचेअनुसार भएन। कोरोनाको कारण लकडाउन भयो। बजार बन्द भयो।
सिंहले खेतमा मनग्गे ओल उब्जाए। केही टिपेर घर पनि ल्याए। मजदुर लगाएर बेच्न ठिक्क पारे। तर, बजारमा बेच्न आउँदा प्रहरीको परेशानी झेल्नुपर्ने र घरमै आक्कलझुकल आएका व्यापारीले पनि भाउ दिएनन्। सस्तोमै बेच्नुपर्यो। लगानीअनुसार आम्दानी नहुने हो कि भन्ने चिन्तामा उनी छन्। कोरोनाले मेहनत र लगानीअनुसार आम्दानी भएन।
माघ महिनामा ओल तरकारी उनले लगाएका थिए। साउनमा बेच्न सुरु हुन्थ्यो तर, लकडाउनका कारण उनले बेच्न पाएका छैनन्। ‘तरकारी खेती गर्दा मजदुर, मल–खाद्य बिउमा लाखौं रुपैयाँ लाग्यो’, उनले भने, ‘तर, उब्जाएको तरकारी पनि बेच्न पाएको छैनन्। खेतमै सड्न दिनु भएन। टिपेर घरमा ल्याउँछौं। सस्तोमा बेच्छौं।’ लाखौंमा लगानी र हजारौंमा आम्दानी भएको उनले सुनाए। अन्नपूर्ण पाेस्ट दैनिकबाट