काेराेना सम्बन्धि झुट्टा अफवाह फैलाउने २ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Sep 11 | 02:13 pm 1790

कास्की, भदाै २६ः सामाजिक सञ्जाल मार्फत कोभिड-१९ को पिसिआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका-७ घर भई हाल कास्की पोखरा महानगरपालिका-५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका-४ घर भई कास्की पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन् ।

पक्राउ परेका मध्ये रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार आ-आफ्नै घर ठेगानाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड-१९ पिसिआर परीक्षण गरेका रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.