काठमाडौं, भदौ २३ः काठमाडौं महानगरपालिका २१ न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख ठगी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कामनपा ३१ का राजकाजी खड्गी रहेका छन् । उनी सहकारी लिमिटेडको प्रबन्धक पदमा २०७० असार देखि २०७७ जेठ मसान्तसम्म ७ बर्ष कार्यरत रहँदा उक्त सहकारीको हर हिसाव तथा सहकारीको बैंक खाता सन्चालन समेतको सम्पूर्ण जिम्मा लिएका थिए ।
उक्त संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भई लुकीछिपी बसेको अवस्थामा महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।
उनलाई ललितपुर महानगरपालिका २३ धापाखेलबाट प्रकाउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको थियो ।
मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्वन्धी कसुरमा अनुसन्धानको लागि सम्मानित काठमाडौं जिल्ला अदालतवाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भै रहेको महाशाखाले जनाएको छ ।