ललितपुर, भदाै १८ः निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुलचोकमा झडप भएको छ। सांस्कृतिक र सामाजिक परम्परा निरन्तर राख्ने भन्दै लतिलपुरको प्रख्यात रातो मच्छ्रिन्द्रनाथको रथ तान्न पुगेका युवाहरु र प्रहरीबीच झडप भएको हाे ।
स्थानीय र प्रहरीबीचको झडपले उग्ररुप लिएपछि प्रहरीले अश्रु ग्यास हानेको छ। रथ तान्न तम्सेका युवाहरुलाई रोकेपछि झडप भएको हो। रथ तानेर सडकको बीच भागमा पुर्याइएको छ। सडकमा ठूलो संख्यामा प्रहरी घेरा हालेर बसेका छन्।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले भदौ २४ गतेसम्म निषेधाज्ञा कायम राखेको अवस्था र जात्रा एवं चाडपर्व नमनाउन आग्रह गरिरहेको अवस्थामा युवाहरुले रातो मछिन्द्रनाथको रथ तान्न पुगेका हुन् ।
निषेधाज्ञा उल्लंघन गरेर रथ तानेको भन्दै प्रहरीले रथ नतान्न आग्रह गरेको र रथ तान्न पाउनु पर्ने माग गर्ने युवाहरुले अडान नछोडेपछि दुई पक्षबीच झडप भएको छ । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले केही सेल अश्रुँग्यास समेत प्रहार गरेको छ ।