संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका जोखिममा

रिपोर्ट नेपाल | 2020 Aug 28 | 08:40 am 1769

काठमाडौं, भदाै १२ः नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रूपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । अहिले देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरिएको छ भने केही जिल्लामा आवतजावत बन्द गरिएको छ ।

संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झन्डै २ सय जना संक्रमित थपिने गरेका छन् । गत ४ भदौदेखि लागु हुने गरी काठमाडौं उपत्यकामा निषेधाज्ञा गरिएको छ । त्यसपछि एक साता थपिएको छ । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा बिहान बेलुकाको समयमा तरकारी किनमेलमा भीडभाड बढ्ने गरेको छ ।

यस्तै, बिहान बेलुका बजार खुल्दा जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना हुन सकेको छैन । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले आजभोलि थपिएका संक्रमितहरू निषेधाज्ञाअघि नै संक्रमण भएको व्यक्ति हुन सक्ने बताए । उनले भने, लकडाउन खोल्नेबित्तिकै मानिसहरू एकै पटक बाहिर आए । त्यसरी आउँदा जनस्वास्थ्यको मापदण्ड पालना भएन । निषेधाज्ञा प्रभावकारी भए नभएको अबको केही दिनपछि थाहा हुन्छ ।

उनले आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डहरू पालना गर्नुपर्ने बताए । जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले संक्रमण फैलिन नदिन स्वयं व्यक्ति सचेत र सजग हुन जरुरी रहेको बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.