पहिराेका कारण सल्यानमा २५ घर विस्थापित

रिपोर्ट नेपाल | 2020 Aug 24 | 01:44 pm 1973

सल्यान, भदाै ८ः जिल्लाको वागचौर नगरपालिका ­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घर परिवार विस्थापित भएका छन् भने ओखरेनी गाउँमा पहिरोको उच्च जोखिममा परेपछि स्थानीयहरु विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । ओखरेनी गाउँमा तीन घर पहिरोले बगाएको र गाउँभरिमा सयौं स्थानमा पहिरो गएकाले स्थानीयहरु घर छोडेर विद्यालयमा बसेका छन् । यही भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ ।

अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घरहरु भासिएको तथा घर वरिपरि पहिरो गएर घर पहिरामा पुरिने अवस्था भएकाले गाउँलेहरु विद्यालयमा बसेको स्थानीय वीरसिंह डाँगीले जानकारी दिए । यस ठाउँमा सय वर्ष पहिले यस्तै खालको पहिरो गएको हो भन्ने सुनेका थियौँ, आज आफ्नै आँखाले यस्तो विजोग देख्नुपर्यो, उनले भने ।

पहिरोले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको उनीहरुको गुनासो छ । ‘विस्थापित भएर आएकाहरुसँग न त खाने कुरा छ, न लत्ताकपडा नै ल्याउन पाएका छन् । यस्तो अवस्थामा हामी कसरी बस्नु, अहिलेसम्म कतैबाट केही राहत पाएका छैनौं’, स्थानीय पदम खत्रीले भने ।

वाफुखोलाको ओखरेनीमा पहिरोले ठूलो क्षति भएकाले तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका­ १२ का वडाध्यक्ष दिपककुमार वलीले बताए । ‘अहिले वडा कार्यालयमार्फत मुचुल्का तयार गर्ने काम भइरहेको र राहतका लागि पहल गरिनेछ’, उनले भने । बाफुखोलामा रहेका करिब ५ सय ५० घरधुरीमध्ये अहिले ५० प्रतिशतभन्दा बढी पहिराको उच्च जोखिममा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.