सर्पको टोकाइबाट बर्दिबासमा एक जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Aug 23 | 12:36 pm 2095

महोत्तरी, भदाै ७: सर्पको टोकाइबाट बर्दिबासमा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–९ का ५० वर्षीय फौदार महतो रहेका छन्।

आइतबार बिहान आफ्नै घरमै रहेको पसलमा गोमन सर्पले हात्केलामा टोकेको स्थानीय सुरेन्द्र महतोले बताए। स्थानीय महतोको अनुसार पसलमा रहेको फ्रिजमुनि सफा गर्ने क्रममा महतोलाई सर्पले टोकेको थियाे।

सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र बर्दिबास पुर्याइएको र त्यहाँ भर्ना लिन नमानेपछि सिरहको बन्दीपुरमा रहेको सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो। उनको त्यहीं उपचारको क्रममा मृत्यु भएको हो।

याे समयमा यस क्षेत्रमा विषालु सर्पको बिगबिगी हुने गर्दछ। गत साउन मात्रै सर्पदंश उपचार केन्द्र बर्दिवासमा ४० सर्पदंशका घटना देखिएका थिए। सर्पको टोकाइबाट केही दिनअघि मात्रै भंगहा नगरपालिका–५ राजपुरका दुई जनाको मृत्य भएको थियो।

महोत्तरीको बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने गरेका छन्। तर, यी क्षेत्रमा रहेका उपचार केन्द्रमा भेन्टिलेटर अभाव, दक्ष जनशक्ति अभाव रहेकाले सुविधा सम्पन्न स्थानमा लाँदालाँदै बिरामीको मृत्यु हुने गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.