काठमाडाैं, भदाै ७ः आज ऋषि पञ्चमी, भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु (विशेष गरेर नारीहरू) ले मनाउँछन् ।
बिहानै उठेर स्नानादि नित्यकर्म सकेर ब्राह्मणलाई निमन्त्रणा दिई पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई १०८ वा ७ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो, पीना र खरानी आदि लगाई स्नान गर्ने गर्छन् । नेपालमा बिहानै नुहाउने र ३ सय ६५ वटा दत्तिवन टोक्ने चलन छ ।
रजस्वलाका समयमा छाइछुई लगायत कुनै त्रुटि भएको अवस्थामा अरुन्धतीसहित सप्तऋषिकाे पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने शास्त्रीय वचन छ ।
यस वर्ष भने कोरोनाभाइरसको महामारीका कारण घर घरमै स्नान गर्न प्रहरीले आह्वान गरेको छ । तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्ने गरेका थिए । नदी किनारको दायाँ–बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले ऋषिपञ्चमीमा स्नान गर्ने गरेका थिए ।
नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।