वीरगन्ज, २० असार : वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले वीरगन्जको नेशनल मेडिकल कलेजले बुझाउनुपर्ने करमा अधाभन्दा बढी मिनाहा गरिदिएका छन् ।
डेढ दशकदेखि सञ्चालनमा आएको मेडिकल कलेजले ९ करोड २ लाख ४७ हजार ९ सय ९६ रुपैयाँ कर नतिरेको भन्दै महानगरले विगतमा पटकपटक पत्राचार गरेकोमा मेयर सरावगीले अहिले आएर ४ करोड ९४ लाख रुपैयाँ कर तिराएर उन्मुक्ति दिएका छन् । यो रकम २ वर्ष अगाडिको हो । नियमित कर र जरिवानासमेत गरी ११ करोडभन्दा बढी हुने महानगगर राजश्व शाखा स्रोतको दाबी छ ।
महानगरको यही असार १० गतेको नगरसभाले नेशनल मेडिकल कजेलको स्वघोषणाका आधारमा सो रकम तीरे पुग्ने भनी निर्णय गरेको हो । यो निर्णय गराउन मेयर सरावगीलाई मेडिकल कलेजमा सञ्चालक अन्सारीले प्रभावमा पारेको मेयर स्रोतले बताउँछन् ।
विगतमा कर निक्र्यौलका लागि महानगरपालिकाका कर्मचारी जान खोज्दा मेडिकल कलेजमा पस्नै नदिने अन्सारीलाई फाइदा हुने गरी उसकै घोषणाका आधारमा कर निर्धारण हुनुलाई ठुलो आर्थिक लेनदेनको उपजको रूपमा लिइएको छ । यसका लागि अघिल्लो नगरसभाले एउटा समिति बनाएर कर्मकाण्डसमेत पूरा गरिएको स्रोतले बताएको छ ।
त्कालीन कार्यकारी अधिकृत विष्णु कोइरालाले कलेजलाई १ करोड ३५ लाख रुपैयाँ तिराएका थिए । अहिले सो रकमसहित ४ करोड ९४ लाख रुपैयाँ चुक्ता गराएर मेडिकल कलेजलाई उन्मुक्ति दिइएको छ । मेडिकल कलेजले यही असार १५ गते तोकिएको कर चुक्ता गरिसकेको महानगरको राजश्व शाखाका अधिकृत रामदयाल यादवले बताए ।