कोरोनाको उच्च जोखिममा महानगरका कर्मचारी

रिपोर्ट नेपाल | 2020 Aug 14 | 07:25 am 2202

काठमाडौं, साउन ३०ः सरकारले कोरोना संक्रमितको सम्पर्कमा रहेका वा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई एकैपटक नखटिन दिएको आदेशको दुई महानगरपालिकाले बेवास्ता गरेका छन् ।

उपत्यकाको काठमाडौं र ललितपुर महानगरपालिकाभित्र कोरोना संक्रमित देखिएका व्यक्तिसँग निकट भएका परिवार, आफन्त र साथीभाइको कन्ट्याक्ट ट्रेसिङमा खटिने स्वास्थ्यकर्मीलाई बिदा नै नदिई खटाएको पाइएको छ ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागले कोरोना परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङमा खटिने जनस्वास्थ्य अधिकृतलाई बिदा नदिएको स्वीकारेको छ । विभाग प्रमुख नरेन्द्रमान वज्राचार्यले जनस्वास्थ्य अधिकृतहरुको कमी भएका कारण वैकल्पिक व्यवस्था गर्न नसकेको जानकारी दिए ।

उनले भने– महानगरपालिकाका सबै वडामा खटिनुपर्ने भएकाले बिदाको व्यवस्था गर्न नसकेका हौं । कामपालाई बिदा मिलाएर खटाउनुपर्छ भन्ने विषयमा जानकारी नभएको कारण हालसम्म सबै अधिकृतलाई कोरोना परीक्षण सम्पर्कमा नआएका व्यक्तिलाई खोजी गर्ने र संकलन गरिएको स्वाब परीक्षण गर्न पठाउने काममा खटाइएको छ ।

कामपाले राजधानीमा कोरोना संक्रमण देखिएलगत्तै परीक्षण गर्ने कामलाई तीव्रता दिएको थियो । त्यस बेलादेखि खटिएका जनस्वास्थ्य अधिकृत हालसम्म सोही काममा परिचालित छन् । कामपामा ३२ वडा छन् ।सरकारको निर्णय पालना नगरी सबै दिन खटाएकोमा आपत्ति जनाउँदै एक अधिकृतले भने–हामीमध्ये एक जनामा कोरोना संक्रमण देखियो भने सबै जना आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।

हामी हरेक दिन काम गर्छौं घरपरिवारसँगै बस्ने गरेका छौं –उनले भने । घरपरिवारसँग बस्दा जोखिम बढ्न सक्ने विषयमा दुवै महानगरले सोच्ने गरेको छैन । विभाग प्रमुख वज्राचार्यले यो विषयमा मेयर र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गर्ने बताए ।

कामपाले कोरोना संक्रमण र व्यवस्थापन गर्न आफ्ना २७ जनस्वास्थ्य क्लिनिकका १५ जनालाई परिचालन गरेको छ । वज्राचार्यका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्न ३ जना अधिकृत रहने गरी ५ वटा टोली परिचालन गरिएको छ । टोलीले सम्पर्कमा आएका व्यक्ति पहिचान गरी ३ जना ल्याब टेक्निसियनले स्वाब संकलन गर्ने व्यवस्था गरेको छ ।

टेक्निसियनले स्वाब संकलन गरेपछि टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रमा परीक्षण गर्न लैजाने व्यवस्था गरेको छ । कामपाले हालसम्म करिब ५ सयको कोरोना परीक्षण सम्पन्न गरेको जनाएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.