काठमाडौं, २० असार : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गति पञ्चायती शैलीको निरंकुश र शासकहरु पहिलेका राजा तथा महाराजाजस्तो भएको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो बताएका हुन् ।
लेखकले सरकारका गतिविधिहरु कारण लोकतान्त्रिक मुल्य र मान्यताहरु कमजोर बनेको आरोप लगाए । ,‘सरकारको गतिविधि हेर्दा शासन पञ्चायतीजस्तो र शासकहरु राजा र महाराजाजस्ता देखिन्छन्, यो ठीक छैन, सरकारका गतिविधिहरु हुकुमी शैलीका आदेशमा चलेका छन्, कानूनमा होईन, गफ बढि दिने तर काम कम देखियो।’ लेखकले भने,‘यसले मुलुकलाई ठिक ठाउँमा पुर्याउँदैन, पत्रकारले मन्त्रीलाई प्रश्न सोधेकै भरमा कार्यक्रम बन्द गरियो, नागरिकले अहिले विरोध गर्न पाउने अवस्था छैन, निषेधित क्षेत्र तोकिएका छन्, यस्तै हो भने अब कुन दिन सरकारको विरोध त बेडरुमबाट मात्रै गर्न पाउने निषेधाज्ञा जारी हुन बेर छैन।’
उनले भने,‘मुलुकको समग्र अवस्था ठिक छैन, मुलुक संविधान र कानूनसम्मत् ढंगले चलिरहेको छैन, एकांकी र लहडको भरमा चलेको छ, हुन त अहिले नै सरकारको आलोचना गर्ने बेला भएको छैन, तर सरकारले अहिले मुलुकलाई सही ढंगले चलाएको पाईएन्।’
जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीप्रतिपनि सरकार अनुदार बनेको उनको आरोप छ । उनले भने,‘उहाँको स्वास्थ्य अवस्था बिग्रंदो छ, उहाँको स्वास्थ्य चेकजाँच गर्न जान लागेका चिकित्किहरुलाई समेत स्थानीय प्रशासनले रोक लगाएको भन्ने कुरा आएको छ, यदि यो साँचो हो भने गलत छ, अनशनमा बस्नुभएको व्यक्तिप्रति राज्यबाट जस्तो व्यवहार अहिले भएको छ, त्यो धेरै गलत छ।’ केसीका माँगहरु जायज रहेको उल्लेख गर्दै माथेमा आयोगको प्रतिवेदनलाई टेकेर आएको अध्यादेशलाई कुनैपनि हालतमा तलमाथि वा तोडमोड गर्न नमिल्ने लेखकको जिकिर छ।