सर्लाहीका कनिष्ट तानिदा इनेस्पेक्टरको मस्ती !

किन परेनन् कुर्मी डिआइजी सिंहको नजरमा ?

रिपोर्ट नेपाल | 2020 Aug 09 | 01:52 pm 2444

सर्लाही, साउन २५ः जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटाइएका असई लालजित रावत र हवल्दार छविलाल साहलाई कारबाही स्वरुप मुख्यालय र प्रदेशमा तानिए पनि उनीहरुलाई पैसा उठाउन लगाउने इनेस्पेक्टर राजुप्रसाद कुर्मी भने जुँगामा ताउ लगाउँदै नयाँ दाउमा अघि बढिरहेका छन् ।

रिपोर्ट नेपाललाई सर्लाही प्रहरी र प्रदेश प्रहरीको विशेष स्रोतले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालयको प्रशासन र घुमुवा दुबैको कमाण्डर गर्दै आएका इनेस्पेक्टर राजुप्रसाद कुर्मीले पछिल्लो समय आफैले रकम उठाउँदै हिडेका छन् ।

सुरेश सहनी नाम गरेका असइलाई पैसा उठाउन लगाएर निलम्बनमा परेका कुर्मीले यतिखेर एसपी विश्वमणी पोखरेललाई पूरै विश्वासमा लिएर विभिन्न सामान तस्करी गर्ने तस्करसँग रातदिन मोलमोलाई गरिरहेको बुझिएको छ ।

भेरायी मलंगवाका कपडा व्यापारी ऋषी यादव, शिवसागर चोकडा, हार्डवेयर व्यापारी राजकिशोर यादव, गमरियाका कपडा व्यापारी ओमप्रकाश यादव, मलंगवाका कपडा व्यापारी फरुल मियाँ, भैसी र कपडा व्यापारी जय प्रकाश यादव, जिरा, मरिच र कपडा व्यापारी नवल साह, सुपाडी, मरिच खुद्रा तस्कर गर्ने उमेश चौधरी, आलु प्याज व्यापारी चुलाई चौधरी, कपडा व्यापारी स्तफा मियाँ, इसराजु, दिनेश यादव लगायतका झण्डै चार दर्जन व्यापारीलाई तस्करी गर्न सघाएर मासिक ७५ हजार देखि डेढ लाखसम्म लिने गरेको समाचार स्रोतको दाबी छ ।

दिनभर अरुको मोबाइल नम्बरबाट सम्पर्क गर्ने र रातिमा तस्करी गराउने गरेको बताइन्छ । प्रशासनको इनेस्पेक्टर भएका कारण कुर्मीले अन्य पोष्टका कर्मचारीसँग समेत रकमको मोलमोलाई गर्ने गरेका छन् ।

कोरोना महामारीबाट सर्वत्र आतंकित भइरहेको सर्लाहीमा इनेस्पेक्टर कुर्मीले भने वारीको सामान पारी र पारीको सामान वारी गराएर मस्तसँग तर मारिरहेका छन् । एसपी विश्वमणी पोखरेलको नाम भजाउँदै कुर्मीले व्यापारीसँग दैनिकी हिसाब किताब गर्ने गरेको बताइन्छ ।

लामो समय परिवारसँग भेटघाट नपाएका तल्लो दर्जाका कर्मचारीको विदा समेत स्वीकतीमासमेत सिधै पैसा माग्ने कुर्मीलाई डिआइजी धिरजप्रताप सिंहले देखेर पनि नदेखे झै गर्नु र एसपी पोखरेल चिर निद्रामा रहनुलाई रहस्यमय ठानिएको छ ।

कुर्मीको निर्देशनमा काम गरेकालाई कारबाही र निर्देशन दिनेलाई दिनेलाई कुनै कारबाही नहुनुका पछाडी दुई नम्बर प्रदेश प्रहरी नेतृत्वले चोरलाई चौतारो साधुलाई शुली त चढाउँदै छैन प्रश्न खडा भएको छ ।

प्रनि कुर्मीले असइ र सई युनिटमा चेन्ज गर्दा पैसाको लेनदेन गर्ने गरेको समेत स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.