बैतडी, साउन २३ः बिहीबार राति पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–४ मठैराजका आनसिंह बोहराकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेश रहेका छन् ।
सुतिरहेका बेला घरमाथिबाट झरेको पहिरोले घर पुर्दा आमा–छोराको मृत्यु भएको हो भने अन्य दुईले भने भागेर ज्यान बचाएका छन् ।
राति १ बजे घरमाथिबाट आएको पहिरोमा परी उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
अचानक आएको पहिरोमा च्यापिएर दुवै जनाको ज्यान गएको हो भने सोही घरको अर्को कोठामा रहेका दुई जना भागेर बाच्न सफल भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि धामीगाउँ प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानीयले दुवै जनाको शव निकालेका छन् भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।