जाँजरकोट, साउन २०ः सोमबार बच्चा जन्मिसकेपछि सालनाल खस्न ढिलो हुँदा जाँजरकोटमा एक सुत्केरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुन रहेकी छन् । उनको सुत्केरी भएको करिश छ घण्टापछि मृत्यु भएको हो ।
बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिए ।
पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको श्रीमान् अमृत पुनले बताए । उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य रहेको जनाए ।