नेपाल–भारत सीमामा आवतजावत कडाइ गर्न अन्तरिम आदेश

रिपोर्ट नेपाल | 2020 Aug 02 | 07:57 am 2007

काठमाडौं, साउन १८ः नेपालभर नै कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाल–भारत सीमा आवतजावतमा कडाइका लागि सुरक्षाकर्मीको गस्ती बढाउन उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले सम्बन्धित निकायलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डिल्लीराज आचार्यको इजलासले नेपाल–भारत सीमामा आवागमन रोक्न सुरक्षाकर्मीको गस्ती बढाउन सम्बन्धित निकायलाई शुक्रबार अन्तरिम आदेश दिएको वीरगन्जबाट कानुन व्यवसायी सुधीर कर्णले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

कोरोना भाइसरको संक्रमण ह्वात्तै बढेसँगै नेपालमा भयावह स्थिति उत्पन्न हुने आशंका गरिएको छ । काठमाडौं उपत्यकामा पनि बाहिरबाट आउने व्यक्तिका कारण कोरोना भाइरस बढेको आशंका गरिएको छ । विशेष गरी भारतीय सीमा हुँदै नेपाल आउनेहरूबाट यहाँ डरलाग्दो स्थिति उत्पन्न भएको विज्ञहरू बताउँछन् ।

सीमाबाट नेपाल प्रवेशमा रोक लगाउने कार्यको प्रभावकारिताका लागि निरन्तर अनुगमन गर्न स्थानीय प्रशासनको नेतृत्वमा समिति वा अन्य उपयुक्त संयन्त्र गठन गर्न पनि अदालतले आदेश दिएको छ ।

उक्त समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी बल तथा सीमास्थित अध्यागमन कार्यालयका प्रतिनिधिलाई समावेश गर्न आदेशमा भनिएको छ । सीमाबाट आवतजावत गर्नेहरूको आवधिक र आकस्मिक अनुगमन गर्न गठन हुने समितिलाई प्रभावकारी बनाउन अदालतको आदेशमा उल्लेख छ ।

मास्क प्रयोग, दूरी कायमको अनिवार्यता र सामूहिक भेटघाटको नियन्त्रणका लागि जनचेतनाको कार्यक्रम अपनाउँदा पनि अटेर गर्नेलाई दण्डात्मक व्यवस्था अपनाउन जिल्ला प्रशासन कार्यालय, पर्सालाई अदालतले अन्तरिम आदेश दिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.