कालीकोट, साउन १४ः मंगलबार राति कालिकोट जिल्लाको नरहनीनाथमा गाउँपालिका ७ मा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।
पहिरोमा परी मृत्यु हुनेमा ६५ वर्षीय गंगे बुढा, ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र एक वर्षका चरित्र बुढा रहेका छन् ।
६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्याम ओलियाले जानकारी दिए ।
यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमतीको मृत्यु भएको छ । बाले बेपत्ता रहेको र खोजी कार्य भइरहेको डीएसपी ओलियाले बताए ।