पूर्वी चितवनमा सबस्टेसन निर्माण

रिपोर्ट नेपाल | 2020 Jul 27 | 08:40 am 3066

चितवन, साउन १२ः नेपाल विद्युत प्राधिकरणले हेटौँडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई आपूर्ति गर्न पूर्वी चितवनमा सबस्टेसन निर्माण गरेको छ । चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन १३२–३३–११ केभी सबस्टेसन निर्माण गरिएको हो ।

उक्त सबस्टेसन निर्माणपछि हेटौडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकाली चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

सबस्टेसन राखिएका १३२–३३ केभी, ३० एमभीएका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा नो लोडमा चार्ज गरिएको छ, अब त्यसलाई लोड दिएर चार्ज गरिने छ । कार्यकारी निर्देशक घिसिङले अगाडि भने–त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत आपूर्तिका लागि ३३–११ केभी, १६ दशमलव ६ एमभीए पावर ट्रान्सफर्मर आइतबार चार्ज गरिएको छ, सबस्टेसन स्वचालित प्रणालीको सञ्चालन र ११ केभी फिडरबाट एकहप्ताभित्र विद्युत वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।

सबस्टेसन सञ्चालनमा आएपछि प्राविधिक चुहावट ४–५ प्रतिशत घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने घिसिङको भनाइ छ ।

हाल भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३–११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत आपूर्ति भइरहेको छ । लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युतको प्राविधिक चुहावटको समस्या थियो ।

राप्ती नगरपालिका–६ हर्दीमा निर्माण गरिएको सबस्टेसनको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ । आर्थिक वर्ष २०७–२७३ मा शुरु भएको आयोजना गत चैतभित्र सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । तर, कोभिड–१९ का कारण प्रभावित हुँदा केही ढिला भएको हो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.