नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि भारतीय महिलाद्वारा हसिया प्रहार

| 2020 Jul 25 | 03:30 pm 1711

रौतहट, साउन १०ः परोहा नगरपालिका ८ नरकटियाको नेपाल भारत सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले हातपात गरेपछि झडप भएको छ ।

कोरोना भाइरसका कारण १० चैत, २०७६ देखि सीमा नाका बन्द छ । तर भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरी बलका जवानहरुले रोकेका थिए ।

ती महिलाहरुले सुरक्षाकर्मीमाथि हातपात गर्न खोजेपछि विवाद भएको थियो । त्यसै बेला भारतको पूर्वी चम्पारण कवैया पञ्चायत ६ खर्सलाहाका सीमा देवी कुशवाहाले आफूले बोकेको हसिया प्रहार गर्दा सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् ।

झडपका क्रममा भीडलाई तितरवितर बनाउन एक राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ । घटनाले उग्ररुप लिएपछि ११ नम्बर गण हेडक्वाटरबाट ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुरबाट ३५ जना सुरक्षाकर्मीको टोली परिचालन भएको थियो ।

घटनमा संलग्न भारतीय नागरिक रविन्द्र प्रसाद कुशवाहालाई पक्राउ गरी प्रहरी चौकी, नरकटियामा राखिएको थियो । अहिले सीमाक्षेत्रको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.