यात्रुबाट वढी भाडा लिने १७ वटा तथा बढी यात्रु बोक्ने ३३ वटा सवारी ट्राफिक कारवाहीमा

रिपोर्ट नेपाल | 2020 Jul 24 | 05:46 pm 2783

काठमाडौं, साउन ९ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारी साधनलाई शुक्रबार ट्राफिक कारवाही गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ ।

त्यस्तै, तोकिएको संख्या भन्दा बढी यात्रु राख्ने ३३ वटा सार्वजनिक सवारी साधनलाई कारवाही गर्नुका साथै स्वास्थ्य मापदण्ड अनुसार नचलाइएका १ हजार १ सय ५२ वटा सार्वजनिक सवारी साधनलाई सम्झाइवुझाई पनि गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौत्तमले सादा पोशाकमै ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने र ५० प्रतिशत भन्दा बढी यात्रु राख्ने विरुद्ध कारवाही चलाएको जानकारी दिए ।

यात्रु ठगीका घटना रोक्नका साथै कोरोना संक्रमण रोकथामको लागि सामाजिक दुरी कायम गराउन तथा चालक र यात्रुले अनिवार्य मास्क, सेनिटाईजर लगाएको नलगाएको र ५० प्रतिशत मात्र यात्रु राखे नराखेको अनुगमन गर्ने विशेष अभियान चलाएको हो । उनले भने, ती सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार तोकिएको जरिवाना गराईएको छ ।

प्रहरीले आफैँ यात्रु बनि निगरानी गरेर तथा गाडीबाट ओर्लिएका यात्रुसँग जानकारी लिएर उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ ।

यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पीडित सहायता इकाईबाट सादा पोशाकमा ट्राफिक प्रहरीको टोलीलाई परिचालन गरेको छ ।

महाशाखाले सार्वजनिक सवारी साधनले बढी भाडा लिएको, सामाजिक दुरी कायम नगरेको, स्वास्थ्य मापदण्ड पूरा नगरी चलाएको सुचना नजिकको ट्राफिक प्रहरी वा हटलाईन १०३ मा जानकारी गराउनु हुन पनि अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.