एक युवकको मृत्यु भएको विषयमा सेनाद्वारा छानविन सुरु

रिपोर्ट नेपाल | 2020 Jul 24 | 12:22 pm 1515

काठमाडौं, साउन ९ः चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको विषयमा सेनाले छानविन सुरु गरेको छ ।

शुक्रबार बिहान नेपाली सेनाले विज्ञप्ति जारी गर्दै आन्तरिक छानबिन सुरु गरिसकेको उल्लेख गरेको हो । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको बुधबार मृत्यु भएको थियो ।

सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् । राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको थियो ।

उक्त विषयमा सेनाले आफ्नो आन्तरिक छानबिन सुरु गरिसकेको र अधिकारप्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने विज्ञप्तिमा भनेको छ ।

सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । चेपाङ युवकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । उनको अहिलेसम्म पोष्टमार्टम गरिएको छैन । घटना विवादित बन्न सक्ने देखिएकाले आवश्यक सल्लाह र निर्णयपछि मात्रै पोष्टमार्टम गरिने अस्पतालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.