चितवनमा पाँच जनाको शव फेला

रिपोर्ट नेपाल | 2020 Jul 23 | 08:08 am 2962

चितवन, साउन ८ः जिल्लामा रहेका दुई ठूला नदीमा बुधबार पाँच जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयले चितवनले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो ।

जिप्रकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेको र किनारमा तैरिएको अवस्थामा शव भेटिएका हुन् । भरतपुर महानगरपालिका–१ ठिमुरामा दुई जनाको बेवारिसे शव फेला परेको छ । ती मध्ये एक जना अन्दाजी १५ वर्षीया किशोरी र अर्का ५५ वर्षीय एक पुरुष रहेको थापाले जानकारी दिए । ती शव सडेको अवस्थामा फेला परेका हुन् ।

त्यस्तै भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय सानो कान्छा भन्ने कर्णबहादुर सुनारको शव बुधबार फेला परेको छ । मङ्गलबारदेखि उनी बेपत्ता भएका थिए । उनको वडा नम्बर १६ कै झनझने भन्ने ठाउँमा शव भेटिएको हो ।

भरतपुरकै वडा नम्बर १ गैँडाचोकस्थित नारायणी किनारमा अन्दाजी ५० वर्षीया एक महिलाको शव फेला परेको छ । त्यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिको बूढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको उनले जानकारी दिए ।

बग्दै गरेको शव देखिएपछि स्थानीय र प्रहरीले नदी बाहिर निकालेका थिए । एक जनाबाहेक अन्यको सनाखत हुन सकेको छैन ।

विभिन्न ठाउँबाट बगाएर वा पुरेको ठाउँबाट बाढीले शव बाहिर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । शवको मुजुल्का गरेर परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.