काठमाडौं, साउन ७ः रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका १ गमहरीयामा लालबकैया खोलाको लच्कापुल तर्ने क्रममा बीच भागमा अलपत्र परेका सात जनाको एपीएफ टोली र स्थानीय प्रहरीले सकुशल उद्धार गरेको छ ।

सो लच्कापुल तर्ने क्रममा केही व्यक्तिहरु बीच भागमा पुगेपछि बाढिको प्रभावले त्यस ठाउमा अड्कीएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश लक्ष्मीपुरबाट एपीएफ टोली खटिएको थियो ।
यसैगरी पर्सा जिल्लाको छिपहरमाई गाँउपालिका १ स्थित ओरिया खोलामा पानीको बहाब बढ्न गई सोही ठाउँ बस्ने नन्दु साहको घर डुवानमा परेर उक्त घर भित्र अलपत्र परेका ९ जनाको एपीएफ टोली र स्थानीय प्रहरीले सकुशल उद्धार गरेको छ ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट एपीएफ टोली खटिएको थियो ।
यसैगरी झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका ७ स्थित मुर्तिडाँडामा पहिरो गई तेजराज बराईलीको घर पुरिदा सोही जिल्लाको मेची नगरपालिका ९ मागुरबारीका १५ बर्षीय बिबेक दंगाल बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश टिमाईबाट एपीएफ टोली खटिई गई उनको खोज तथा उद्वार कार्यमा जुटेको छ ।
यसैगरी रौतहट जिल्लाको कठरिया नगरपालिका १ भोसेरुवाका २५ वर्षीय बैजु यादव स्थानीय बकैया खोलामा बाढिले बगाएर ल्याएको दाउरा तान्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश जंगलशैयाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी उनको खोजी कार्यमा जुटेको छ ।
यसैगरी लमजुङ्ग जिल्लाको मर्स्याङ्दी गाउँपालिका ३ तरापुमा पहिरो जाँदा १८ घर पुरिएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म लमजुङ्गबाट खटिएको एपीएफ टोली र स्थानीय वासिन्दाले उक्त पहिरोमा परेका दुई जनाको सकुशल उद्वार गरेको छ ।

खोलाले बगाएका व्यक्तिको शव फेला
पर्सा जिल्लाको जगरनाथपुर गाँउपालिका ६ माधवपुरस्थित नौरङ्गिया खोलाले बगाई बेपत्ता भएका एक जनाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ ।
सोही ठाउँका १७ बर्षीय कृष्ण पट्टेल पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उनको शव खोलाको किनारमा फेला पारेको हो ।
एपीएफ टोलीद्वारा श्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्राउ
सिरहा जिल्लाको सिरहा नगरपालिका १९ सोहरुवा स्थित सीमा ईलाकाबाट गएराति एपीएफ टोलीले श्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्नामा गाँउपालिकाको लक्ष्मीपुरका ३७ बर्षीय सुकदेव ठाकुर रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज ठाकुरलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेको तथा निज ठाकुरले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि सो रकमसहित उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका ठाकुरलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ ।
चोरीपैठारी निकासीको सामान बरामद
पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिका ७ जगनाथपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोली र स्थानीय प्रहरीले चार लाख २५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको केराउ बरामद गरेको छ ।
लु २ च १८२२ नम्बरको ट्रयाक्टरमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठीपर्सौनीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले बरामद गरेको हो ।
उक्त केराउ लैजान प्रयोग भएको सो ट्याक्टर समेत बरामद गरिएको छ । बरामद केराउ तथा उक्त ट्याक्टर स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी झापा जिल्लाको मेची नगरपालिका १५ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब ६ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा औषधी बरामद गरेको छ ।
भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा तथा औषधी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी धनुषा जिल्लाको जनकनन्दनी गाँउपालिका ३ मौवाबाट गएराति एपीएफ टोली र स्थानीय प्रहरीले करीब ६ लाख ४६ हजार रुपैयाँ बराबरको केराउ र छोकडा बरामद गरेको छ ।
उक्त ठाउँको एक घरमा उक्त सामान लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उल्लेखित मुल्य बराबरको केराउ र छोकडा बरामद गरेको हो ।
बरामद सामान स्थानीय प्रहरीमा बुझाइएको छ ।