बाढीले घर र गोठ बगाउँदा दार्चुलामा २ जनाको मृत्यु

| 2020 Jul 20 | 03:02 pm 2608

दार्चुला, साउन ५ः गएराति परेको अविरल वर्षाका कारण दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित परिगाउँ खोलामा आएको बाढीले घर र गोठ बगाउँदा ५ वर्षीय बालिका सहित २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय हरजित ठगुन्नाकी ४२ वर्षीया श्रीमती मानमती ठगुन्ना र सोही ठाउँका मानसिंह ठगुन्नाकी ५ वर्षीया छोरी पारवती ठगुन्ना रहेका छन् ।

यस्तै ३ घर, एक विद्यालय र ८५ चौपाया समेत बगाएको नौगाड प्रहरी चौकी प्रमुख भुवन बहादुर चन्दले जानकारी दिए ।

नौगाड प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मृतकको शव पुरिएको अवस्थामा घर भित्रबाट निकालेको उनले बताए । बाढीसंगै पहिरोमा परी घाइते भएकी हरजित ठगुन्नाकी २२ वर्षीया बुहारी मोहना ठगुन्नालाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी चौकी प्रमुख चन्दले जानकारी दिए ।

घट्नास्थलमा नौगाड प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट उद्दारका लागि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.