पर्सा, साउन १ः कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगञ्ज–१५ घर भएकी ४९ वर्षीया कान्तिह भन्ने सविला खातुन रहेकी छन् । उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिए ।
लागूऔषध मुद्दामा उनीविरुद्ध पर्सा जिल्ला अदालतले १५ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । १५ वर्ष कैद भुक्तानी गरिसकेकी उनी जरिवाना बापत कैद बसिरहेकी थिइन् ।
पोखरेलका अनुसार खातुनको गएराति ११ बजेर ३४ मिनेटमा उपचारको क्रममा निधन भएको हो । उनी क्रोनिक चर्म रोगको बिरामी थिइन् ।
उनलाई हृदयाघात भएको आशंका गरिए पनि मृत्युको कारण पोष्टमार्टम पछिमात्रै थाहा हुने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।