काठमाडौं, असार २३ः नेपाल प्रहरीको महानिरीक्षक आइजीमा सरकारले शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक आइजीमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यो नियुक्तिसंगै हाल नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभाग प्रमुख रहेका थापा नेपाल प्रहरीको २८औं महानिरीक्षक (आईजी) बनेका हुन् ।
२०४९ सालमा प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गरेका थापाले एकै ब्याचका अर्का प्रतिष्पर्धी एआईजी हरिवहादुर पाललाई उछिन्दै महानिरीक्षक बन्न सफल भएका हुन ।
प्रहरी नायव उपरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षक बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहेका थापालाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गरिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको हो ।
वर्तमान आईजीपी ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण भोलि बुधबारबाट अनिवार्य अवकास हुने भएका छन् ।