पहिरोका कारण बेँसीशहर–चामे सडक अवरुद्ध

रिपोर्ट नेपाल | 2020 Jul 07 | 12:38 pm 2570

लमजुङ, असार २३ः लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा गएरातिदेखि बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ ।

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मरस्याङ्दी गाउँपालिका ३ खुदीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

गएराति करीब १ बजे सडकमाथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिरो खस्दा २०र२५ मिटर सडक पुरिएको सडक डिभिजन कार्यालय दमौलीका सबइञ्जिनीयर सुमन अधिकारीले बताए। उनले भने, आज बिहान ७ बजेदेखि एक्साभेक्टरले पहिरो हटाउने काम भए पनि ठूल्ठूला ढुङ्गासहितको पहिरो रहेकाले हटाउन मुश्किल भइरहेको छ ।

कतिबेलासम्म पहिरो पन्छाउन सकिने यकिन गर्न नसकिए पनि कम्तीमा अपराह्न १र२ बजेसम्म लाग्ने उनको भनाइ छ । पहिराले सडक अवरुद्ध बनाएपछि कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्दा रोकिएका छन् ।

अविरल वर्षा भएका बेला कुनै पनि समयमा सडकका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाउन सक्ने उच्च सम्भावना छ । यसअघि गत महिनामा मात्र दुई पटक सडक अवरुद्ध भइसकेको छ । त्यस्तै वर्षेनी वर्षायाममा पटक पटक पहिराले ६५ किमीको सो सडक अवरुद्ध बनाउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.