बर्दिया, असार २२ः गुलरिया नगरपालिका ६ स्थित आफताब सुनचाँदी पसलबाट करिब २ लाख ७६ हजार ४ सय ४५ रुपैयाँ बराबरको मंगलशुत्र लुटपाट गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका ५ का २२ वर्षीय रबिन चौधरी रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
चौधरीले उक्त पसलमा आई २ लाख बराबरको सुनका गरगहना खरिद गर्छु भनी देखाउन लगाई पसल संचालक आफताब जसगढलाई खुर्सानीको धुलो आँखामा छर्की टेबलमा राखेको उक्त मंगलशुत्र लिई भागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले चौधरीलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनको साथबाट मंगलशुत्र १८ पिस, खुर्सानीको धुलो, मोबाइल १ थान र पैसा जस्तो बनाई सेतो प्लाष्टिकमा बेरिराखेको ३ सय १८ पिसको कागजको गड्डी १ थान समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।