बुटवल, असार १३ः गएराति ट्रक र पिकअप भ्यान ठोक्किँदा बुटवलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल ११ कालिकानगरका २१ वर्षीय सुशील कँवार र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङ रहेका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत रामनगरमा रोकिराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको पिकअप भ्यान ठोक्किँदा भ्यानमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनकारी दिएको छ ।
दुर्घटना हुँदा गुरुङको घटनास्थलमै र कँवारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक गोबिन्दप्रसाद रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार पिकअप भ्यानका चालक बुटवलका २५ वर्षीय गोपाल दंगाल भने सामान्य घाइते भएका छन् ।
ट्रक बिग्रिएर मर्मतका लागि वडा प्रहरी कार्यालय रामनगर नजिकै सडकमै रोकेर राखेको अवस्थामा दुर्घटना भएको रेग्मीले बताए । भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।