गुल्मी, असार १३ः जिल्लाका १२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा इस्मा गाउँपालिकाका १० जना र मालिका गाउँपालिकाका २ जना रहेका छन् ।
निको भएका मध्ये इस्मा गाउँपालिकामा १ जना महिला र ९ जना पुरुष भएको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् । संक्रमितहरुको २ पटक पीसीआर जाँचबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको उपाध्यक्ष खत्रीले बताइन् ।
उनीहरु भारतबाट आएर गाउँपालिकाको वडा नम्बर–५ को कुमारी निमाबिमा बनाइएको आइसोलेसनमा बसेका थिए । उनीहरु भारतबाट आएर ३५ दिनसम्म आइसोलेसनमा बसेका थिए । अध्यावधिक विवरण अनुसार इस्मा गाउँपालिकामा हालसम्म ५७ जना कोरोना संक्रमित छन् ।
त्यस्तै मालिका गाउँपालिकाका २ जना कोरोना संक्रमित पुरुष रहेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । संक्रमितहरुमा १४ दिनसम्म कुनैपनि लक्षण नदेखिएकाले घर पठाइएको गिरीले बताए । गिरीका अनुसार उनीहरु कोरोना मुक्त भए नभएको जाँच गरिएको छैन ।
पछिल्लो तथ्यांक अनुसार गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ५७ पुगेको छ । ३२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।
जिल्लाबाट १ हजार ४ सय ९६ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएकोमा ५ सय ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।