अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 26 | 04:17 pm 2346

बारा, असार १२ः अवैध लागूऔषध गाँजा ओसारपसार गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं १७ ब्रह्मपुरी टोलका ट्रक चालक २५ वर्षीय सुवोध प्रसाद यादव, पर्सा बहुदरमाई नगरपालिका वडा नं ९ घर भई हाल करैयामाई गाउँपालिका वडा नं ४ लौतन टोल बस्ने ६२ वर्षीय समसुलहक देवान र चितवन राप्ती नगरपालिका वडा नं ७ का ४५ वर्षीय लक्ष्मी बहादुर राई रहेका छन् ।

अवैध लागू औषध गाँजा ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा शुक्रबार  बिहान प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्लाको करैयामाई गाउँपालिका वडा नं३ स्थित बुलेट इँट्टा उद्योगमा पुग्दा उल्लेखित व्यक्तिहरूले चितवन जिल्लाको लोथरबाट ना ७ ख ४२५२ नम्बरको ट्रकमा बोकी ल्याएको अवैध लागूऔषध गाँजाका पोकाहरू बरामद गरेको हो ।

उनीहरुले ट्रकबाट उक्त गाँजा झारी लुकाई छिपाई राख्ने उदेश्यले भट्टाको म्यान (इँट्टा पोल्ने स्थान) भित्र लगिरहेको अवस्थामा फेला पारी ट्रक समेतको तलासी गर्ने क्रममा ९ पोका १ सय २५ किलो अवैध लागूऔषध गाँजा फेला परेको थियो ।

उक्त अवैध लागूऔषध ओसार पसारमा प्रयोग भएको ट्रक तथा प्र न २–०३–००१ प–९४१ नम्बरको मोटरसाइकल समेत बरामद गरी संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.