पहिरोले यातायात अवरुद्ध

रिपोर्ट नेपाल | 2018 Jul 02 | 05:02 pm 3659

जाजरकोट, १८ असार : यहाँका आन्तरिक तथा बाह्य यातायात सेवा ठप्प भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको अन्तरिक तथा बाह्य सडक यातायात अवरुद्ध भएको हो ।

खलंगा–पाँचकाटिया सडकको रिसाङमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । त्यस्तै, छिन्चु–जाजरकोट सडकखण्डको शान्ति चौतारा, खोदाखोला नजिक पहिरो जाँदा जाजरकोट सदरमुकामबाट बाहिरिने र भित्रिने यातायातका साधन ठप्प भएको छन् । जाजरकोट–डोल्पा सडकखण्डको तीन ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

निरन्तर पानी परिरहेकाले जाजरकोट सदरमुकाम र गाउँको सञ्चारसेवासमेत अवरुद्ध भएको छ । गाउँ–गाउँमा अधिकाँश सडकमा पहिरो जाँदा यातायातका साधन ठप्प भएको गाउँपालिका र नगरपालिकाले जनाएका छन् । यातायात सेवा अवरुद्धसँगै सयौँ स्थानीयवासीले तोकिएको ठाउँमा जान नपाएको गुनासो गरेका छन् ।

पाँचकारियाबाट सदरमुकाम आउने बाटो अवरुद्ध हुँदा दुईवटा जीप कोटखोलामा पहिरोको बीचमा अलपत्र परेको यात्रु धीरेन्द्र बस्नेतले जानकारी दिए ।

पानी निरन्तर परेका कारण सडक खुलाउन सकिएको छैन । निरन्तर पानी परेकाले जाजरकोट ठाँटीबजारका स्थानीयवासी पहिरो लाग्ने भयले त्रसित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.