काठमाडौं महानगरपालिका काठमाडौं प्लाजामा सर्ने

| 2020 Jun 26 | 08:37 am 2281

काठमाडौं, असार १२ः चार वर्षदेखि भाडाको घरमा बस्दै आएको काठमाडौं महानगरपालिका नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्ने भएको छ ।

काठमाडौं प्लाजामा कामपा मुख्यालय रहने भएपछि त्यहाँ रहेका बैक वित्तीय संस्था र अन्य कार्यालयलाई समस्या परेको छ । महानगरले जी टु जी (सरकार–सरकारबीच) सम्झौता अनुसार १० वर्षसम्मको लागि सो भवन भाडामा लिन लागेको हो ।

आफ्नो भवन तयार नहुन्जेलसम्म काठमाडौं प्लाजा भाडामा दिने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । वार्षिक करिब ६० लाख ५० हजार रुपियाँ तिर्ने गरी सम्झौता गर्ने तयारी भइरहेको कामपाले जनाएको छ ।

कामपाका सहसचिव राजेश्वर ज्ञवालीले सरकारसँग सम्झौता भएपछि कार्यालय राख्न सहज हुने बताए । उनले भने– सम्झौता गर्ने अन्तिम तयारीमा छौं, सम्झौता भएको दुई महिनामा कार्यालय सार्नेछौं ।

विभिन्न स्थानमा छरिएको विभाग र महाशाखालाई एकै स्थानमा ल्याउन काठमाडौं प्लाजालाई छनोट गरेका हौं । –सहसचिव ज्ञवालीले भने । उनका अनुसार नेपाल ट्रस्टको कार्यालयले खालि गराएको दुई महिनामा सबै कार्यालय सार्ने योजना छ ।

कामपाको आफ्नो भवन भूकम्पले क्षतिग्रस्त भएपछि २०७३ सालदेखि चाइना टाउनसँगैको जेडिएको भवनमा सारिएको थियो । सो भवनमा सीमित र अत्यावश्यक सेवा दिने कार्यालय मात्र रहेका छन् । झन्डै एक दर्जन विभाग, महाशाखा र शाखाहरू विभिन्न सरकारी कार्यालयको कोठा भाडामा लिएर सञ्चालन भइरहेको छ ।

ट्रस्टको कार्यालयले यही असार २ गते सार्वजनिक सूचना जारी गरी भवनमा रहेका कार्यालय खालि गर्न आग्रह गरेको छ । नेपाल ट्रस्ट कार्यालयले कन्सेप्ट डेभलपर्स प्रालिलाई १० वर्षसम्मका लागि भाडामा दिएको थियो । यही असार २ गते सम्झौताको अवधि सकिएपछि खालि गर्न पत्राचार गरेको थियो ।

नेपाल ट्रस्टको कार्यालयका प्रवक्ता सहसचिव बाबुराजा श्रेष्ठले पहिलो सूचनाबाट खालि नभएपछि अस्ति बुधबार दोस्रो पत्र काटेको जानकारी दिए । बुधबार १५ दिने पत्र काटेका छौं, १५ दिनभित्र खालि भएपछि महानगरसँग सम्झौता गर्नेछौं । –श्रेष्ठले भने ।

उनले जनताको सेवा गर्ने काठमाडौं महानगरपालिकाको कार्यालय विभिन्न स्थानमा छरिएर रहेको बताएपछि सबै कार्यालयलाई एउटै भवनमा ल्याउन कामपासँग सम्झौता गर्न लागेको जानकारी दिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.