- महेश सिंह
सिरहा, असार ११ः भौगोलिक बनावट, वडाबाट संङ्कलित करका साथै जनसंख्याको आधारमा बजेट बिनियोजन गर्न नगरपालिकालाई पटक पटक आग्रह गर्दा समेत मेयरले अटेरी गरिरहेको नेपाली कांग्रेसका नगर सभापति सुनिल महतोको आरोप रहेको छ ।
लहान नगरपालिकाका मेयरले अटेरी गरेको भन्दै नेपाली कांग्रेसले नगर क्षेत्रमा बिरोध प्रर्दशन गरेका छन् । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि गरेको छैटौं नगर सभामा नेपाली कांग्रेसले असहमती जनाएको छ ।

पटक पटक नगरपालिकाले बहुमतको आडमा नगरसभा गरेको भन्दै आगामी आबमा संचालन हुने योजनाहरुको लागि गरिएको नगरसभामा असहमती जनाएका हुन् । जनताको भेलाबाट वडा स्तरीय योजना छनौट नगरेको, वडामा असमान बजेट बाँडफाड, नेकपा भएको वडाका साथै मेयरको कुरा मान्ने, वडाहरुमा बढी बजेट बिनियोजन गरेको भन्दै सभा बहिस्कार गरेको लहान नगरपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष अरुण केसीले बताए ।
नगरपालिकाको २४ वडा मध्ये ९ वटा वडामा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ भने ४ वटा वडामा पूर्व संघिय सामाजबादी फोरम, २ वटामा पूर्व नेकपा माओवादी र ९ वडामा पूर्व एमालेले जित हासिल गरेको छ ।
लहान नगरपालिकाको कार्यपालिकामा नेकपाको बहुमत रहेको छ भने यो नगरसभामा हाल जनता समाजबादी पार्टीले सहमती जनाएको स्रोतले जानकारी दिएको छ ।
अध्यक्ष केसीले भने, नगरपालिकाले लक्षितवर्गको कार्यक्रमहरु आफ्नो हिसाबले संचालन गरिरहेको बताए ।

वडामा हुने सिफारिस लगायत, सरसफाई दस्तुरहरुमा कर कम गर्नु पर्ने भन्दै नगरभित्र रहेका अधिकांस वडाहरु गाउँ केन्द्रित भएकोले नगरपालिकाले गाउँबाट सरसफाई कर उठाईरहेको र गाउँका वडाहरुमा सरसफाई नगरिएको वडा नम्बर –१५ का वडा अध्यक्ष तेज नारायण चौधरीले बताए ।
हामी पटक पटक यी बिषयमा मेयरको ध्यानाकर्षण गराएका थियौं तर नगरपालिकाका मेयरले यो नगर सभामा पनि यि बिषयहरुमा सुनवाई नगरेका कारण बाध्य भएर हामी नगर– सभा बहिष्कार गर्ने निर्णयमा पुगेको वडा अध्यक्ष चौधरीले बताए ।