झापा, असार ११ः जिल्लाको हल्दिवारी गाउँपालिकाको गाउँसभा भइरहेको अवस्थामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेका छन् ।
मुक्का प्रहारबाट घाइते लिङ्गदेनको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा पालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् ।
अध्यक्ष लिङ्गदेनले गाउँसभा विथोल्न आएका अराजक व्यक्तिको आक्रमणबाट झ्याल, ढोका, टेवल कुर्सीलगायत कार्यालयका भौतिक संरचनामा क्षति पुगेको बताए ।
उनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको आरोप लगाएका छन् । गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमका अन्तरबस्तुमा सभा सदस्यसँग सुझाव संकलन गर्ने क्रममा विमती सिर्जना भएपछि एकैपटक आक्रमण सुरु भएको उनको भनाइ छ ।
गाउँपालिकामा मागसहितको ज्ञापनपत्र बुझाउने बहानामा आएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेको अर्का एक जनप्रतिनिधि बताउँछन् । उनका अनुसार ज्ञापन पत्र लिएर आउने व्यक्ति कार्यपालिकामा संलग्न थिएनन् ।
विवाद भएपछि अध्यक्ष लिङ्गदेन सभा बिसर्जन समेत नगरी बाहिरिएका थिए । त्यसपछि उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा सभा सञ्चालन भएको थियो ।